परिचय

यो आयोजना विश्व वातावरणीय सुविधा (Global Environment Facility- GEF) को आर्थिक सहयोगमा नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठन (FAO) बीच सन् २०२३ अप्रिल २६ मा सम्झौता भई नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठनको संयुक्त प्रयासबाट नेपालको पूर्वी पहाडी भेगमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि कार्यान्वयनमा रहेको छ। यो आयोजनाको अवधि ४ वर्ष (अप्रिल २०२३ देखि अप्रिल २०२७) रहेको छ भने कुल अनुदान ४.१८ मिलियन यू.एस डलर अर्थात करिव रु ५५ करोड रहेको छ।यस आयोजनाको कार्यान्वयन क्षेत्र पाँचथर, तेह्रथुम, संखुवासभा, इलाम र ताप्लेजुङ्ग जिल्लाहरु रहेका छन् ।आयोजना कार्यान्वयनका लागि प्रदेश मन्त्रालयमा एउटा आयोजना व्यवस्थापन इकाई र जिल्लास्तरमा डिभिजन वन कार्यालय अन्तर्गत पाँचवटा आयोजना सहयोग इकाईहरु रहेका छन्।

यो आयोजना जैविक विविधताले भरिपूर्ण पूर्वी नेपालको तिनजुरे-मिल्के-जलजले, माई उपत्यका र तमोर उपत्यका क्षेत्रमा केन्द्रित छ। यस आयोजनाले कोशी प्रदेशको २६१०९.७ वर्ग कि.मि  क्षेत्रफल मध्ये ३५७५ वर्ग कि.मि  ओगटेको छ भने १३७ वटा स्थानीय तह मध्ये ३४ वटा स्थानीय तहहरु समेटेको छ जसबाट हाराहारी १,५३,३४० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।